बिहीबार, वैशाख २५, २०८२

होटल श्रमिक हुँदै छ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे

नेपालखोज २०८२ वैशाख २४ गते १३:५८

चितवन । उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगेका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्नेक्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।

पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डे अहिले छ वटा होटलको मालिक बनी सबैको प्रेरणाका स्रोत बनेका छन् । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहेका छन् ।

विसं २०२२ मा जन्मिएका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गरे । उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुगेका उनले विज्ञानमा स्नातकसम्मको अध्ययन गरे ।

विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उनी आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित बताए । सुरुमा एक लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थालेका उनले विभिन्न आरोहअवरोहका बीच चार वटा होटल चलाए । कहिले कमाइ गरे त कहिले गुमाए । उनले भने, होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्यो । पछिल्लो होटलले राम्रै कमाइ गर्यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।

भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किने । जम्मा एक करोड ५० लाखमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोनन्ति गरिएको छ ।

होटल व्यवसायतर्फको उनको यात्रा निरन्तर अघि बढिरह्यो, यसैक्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गरे । सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएका पाण्डेको अहिले काठमाडौं, दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ । क्षेत्रीय होटल सङ्घ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले यस व्यवसायमा सफल भएको बताए ।

प्रतिक्रिया