टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

टोकियो । जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् ।
आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै फुजी टिभीले भनेको छ, पक्राउ परेका आक्रमणकारीले झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए । एएफपीले सम्पर्क गर्दा प्रहरीले तत्काल घटनाको पुष्टि गरेको छैन यद्यपि, जापानी सञ्चारमाध्यमले यसअघि दिएको जानकारीमा चार जना कर्मचारी घाइते भएको जनाएका थिए ।
जापानको राजधानी टोकियोको पश्चिममा रहेको ताचिकावा दाइसान प्राथमिक विद्यालयमा बिहीबार बिहान उक्त घटना भएको सरकारी प्रसारक एनएचकेले जनाएको छ । विद्यालयको वेबसाइटमा ५०० भन्दा बढी विद्यार्थी र ३० भन्दा बढी कर्मचारी रहेको उल्लेख छ । जापानमा कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीहरू औसत सातदेखि आठ वर्षका हुन्छन् । विद्यालयको टेलिभिजन फुटेजमा सुरक्षा कर्मचारी र प्रहरी अधिकारीहरूको टोली परिसर भित्र र वरपर हिँडिरहेको देखिन्छ।
जापानमा हिंसात्मक अपराध तुलनात्मक रूपमा दुर्लभ छ, जहाँ हत्याको दर कम छ र विश्वमा सबैभन्दा कडा बन्दूक कानूनहरू कार्यान्वयनमा रहेका छन् । यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।
प्रतिक्रिया