शुक्रबार, वैशाख २६, २०८२

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

नेपालखोज २०८२ वैशाख २६ गते ७:०९

बरहथवा (सर्लाही) । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।

हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताए ।

उनले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गरे । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुन् । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उनको भनाइ थियो ।

विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भने, विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उनको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उनको भनाइ छ ।

गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गरे ।

हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उनको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले दुःखेसो पोखिन्।

प्रतिक्रिया