आइतबार, पुष ६, २०८२

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८२ वैशाख २९ गते १७:३८

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दिपाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय बिजय कुमार राई र रामेछाप मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया