बजेट अनुशासन कायम गर्न सांसद विष्टको सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने लक्ष्य विधेयकमा राखिएकामा त्यसको स्वागत गरे ।
नागरिकको जीवनस्तर माथि उठाउने र आम नागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढङ्गले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उनले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । सांसद विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताए ।
बूढीगण्डकी, उत्तरगङ्गाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी सोचको सराहना गर्दै उनले सोही अनुसार बजेट विनियोजन गर्नुैपर्ने बताए ।
पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै सांसद विष्टले गुणस्तरीय शिक्षामा ध्यान दिन, युवालाई सूचना र प्रविधिमा केन्द्रित गरी १५ लाखलाई रोजगारीको सुनिश्चितता हुनेगरी बजेट आउँनुपर्ने सुझाव दिए । मुलुकको समग्र आर्थिक विकासका निम्ति बजेटका प्राथमिकता र सिद्धान्त यर्थाथवादी भएको उनले बताए ।
प्रतिक्रिया