‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’

मोरङ । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको बताएका छन् । कांग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवं अन्तरक्रियामा उनले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डो¥याउने जिम्मेवारी रहेको बताए ।
नेता लेखकले कांग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको चर्चा गरे ।
राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उनले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।
‘मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व सङ्कलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ । हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ’, मन्त्री लेखकले भने ।
उनले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताए । यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरे ।
कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिए । कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि आै जार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए । -रासस
प्रतिक्रिया