लागूऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको एब्लकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय दिपेश डगौरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३८० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २५ वर्षीय सन्दिप श्रीवास्तवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको गौरीगंज गाउँपालिका–३ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, नगद २ लाख ४३ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत किसनगंज खनियाबाद–७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, भारत किसनगंज खनियाबाद–५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक नगरपालिका–५ बस्ने ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.१ च ९१६२ नम्बरको कार र बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ बस्ने २५ वर्षीय सलिम खान भन्ने महमद सलाम देवान, २९ वर्षीय विशाल शाक्य र इलाम माई नगरपालिका–८ रातेखोला बस्ने २७ वर्षीय श्री प्रसाद आङदेम्बे रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका २३ वर्षीय दिनेश लामा समेत २ जनालाई अवैध लागूऔषध पोल्याण्ड ८ सय ४० ग्राम, खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामानिल ४ सय ५१ ट्याब्लेट, नाइट्राजेपाम १ हजार १ सय ९० ट्याब्लेट, नाइट्राभेट ७२ ट्याब्लेट, मोबाइल २ थान र नगद ७ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बोडेबाट अवैध लागूऔषध पोल्याण्ड ४ सय ६६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्टागन १ सय ७३ ट्याब्लेट, मोबाइल ३ थान र नगद ५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरीङ लामा, २५ वर्षीय अमिर बस्नेत, मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने २१ वर्षीय सम्राट राई र काठमाडौं कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–३ घर भएका २७ वर्षीय विकास लामा रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले स्वदेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोही महानगरपालिका–१६ बस्ने २२ वर्षीय मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका–४ हाइस्कुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन ८ एम्पुल, बुप्रेनोर्फिन ८ एप्पुल, सिरिन्ज ४७ थान र नगद १० हजार ४ सय ९५ रूपैयाँ सहित सोही नगरपालिका–५ बस्ने २७ वर्षीय कमल चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका–७ बस्ने ३२ वर्षीय विजय गुरूङ र भरतपुर महानगरपालिका–२० बस्ने २७ वर्षीय अनिल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले ग.१ ख ५५९२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक विजय र सहचालक अनिललाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा इच्छाकामना गाउँपालिका-६ पाँच किलोस्थित सोही नगपालिका–६ बस्ने ३४ वर्षीय फुलमाया गुरूङ र सोही नगरपालिका–४ बस्ने ३७ वर्षीय सन्जु गुरूङले सञ्चालन गरेको युनिस खाजा घरमा लागूऔषध बेचबिखन गरिरहेको खुल्न आएपश्चात प्रहरीले उक्त खाजा घर तलासी गर्दा करिब १ किलोग्राम गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.१ प २१८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३० मिलिग्राम सहित बेलवारी नगरपालिका-७ बस्ने २२ वर्षीय रोशन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया