शुक्रबार, जेठ ३, २०८२

काठमाडौंको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु

नेपालखोज २०८२ जेठ ३ गते १६:३०

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौं महानगरपालिका-१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।

वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार ८११ मिटर रहने जनाइएको छ ।
बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ । उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौंको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौंमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौं उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ ।

उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् । सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको जनाइएको छ ।

प्रतिक्रिया