शुक्रबार, जेठ ३, २०८२

‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य’

नेपालखोज २०८२ जेठ ३ गते १८:५३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘डिजिटल फ्रेमवर्क’को उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताएका छन् ।

क्यान फेडरेसनले आयोजना गरेको ‘मल्टि स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० एन्ड वे फर्वाड’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप सञ्चालनमा आए पनि प्रयोग गर्ने साक्षरतामा कमी रहेको बताए । डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल साक्षरता आवश्यक छ, हामीले साक्षरता पनि सँगै लैजानुपर्छ, मन्त्री गुरुङले भने ।

उनले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्वसमेत सरकारको रहेको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकूलन हुनेगरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले उल्लेख गरे ।

सञ्चारसचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताए । आवश्यक सुझाव दिन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे ।

क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अबको युग डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया