शनिबार, जेठ ४, २०८२

नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु

नेपालखोज २०८२ जेठ ३ गते १९:५९

सिमकोट, (हुम्ला) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हुम्लाले बिहीबारदेखि बाजुरा र हुम्लाको सिमानाबाट कर्णाली करिडोर अभियान सुरु गरेको छ । पार्टीको जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान सुरु गरिएको हो ।

जिल्लाका सातवटै स्थानीय तह समेटिने गरी अभियान सञ्चालन गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव धर्मराज बोहराले बताए । कर्णाली करिडोर अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल सुरु गरिएको पार्टी सचिव बोहराको भनाइ छ ।

समसामयिक विषयमा जनसमुदायसँग छलफल गर्ने, पालिकाअन्तर्गतका कार्यक्रमस्थलमा भेटघाट गर्नेे र यो क्रम हिल्सामा पुगेर सम्पन्न हुने उनले जानकारी दिए । अभियान ११ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

कर्णाली करिडोर अभियानअन्तर्गतको आजको कार्यक्रम अदानचुलीको गल्फागाडमा सम्पन्न भएको छभने भोलि शनिबार सर्केगाड गाउँँपालिकाको केन्द्र सर्केगाड बजार, जेठ ५ गते खार्पुनाथ गाउँपलिकाको केन्द्र याङ्चु बजार, जेठ ७ गते सिमकोट गाउँपालिका र जेठ ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा हुने भएको छ । जेठ ११ गते अभियानको अन्तिम कार्यक्रम नेपाल र चीनको सिमाना हिल्सामा हुने नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ ।

प्रतिक्रिया