सर्लाहीमा हुरीबाट ६ जना घाइते

सर्लाही । शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ ।
शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका-२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन् । उनको ढाडमा चोट लोको छ । घाइते क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो ।
हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका-६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते भएका छन् । उनको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।
हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा यहाँको हरिवन नगरपालिका-५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते भएका छन् । उनीहरूलाई हरिपुर नगरपालिका-२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका-५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएका प्रहरीले जनाएको छ । हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेका उनीलाई कठघराको जस्ता उडेर लागेको थियो । उनको दायाँ आँखामा चोट लागेको छ । घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
हुरीले सर्लाहीको गोडैता नगरपालिका-१२ मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा ६० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाएका थिए । उक्त घरमा रामनगर गाउँपालिका-७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहेका थिए ।
हुरीले रूख लडेर च्याँपिदा हरिवन नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ । रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो ।
पूर्व-पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका-१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश-०४-००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते भएकाे प्रहरीले जनाएको हो । उहाँको हातको आँैलामा चोट लागेको छ । घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
प्रतिक्रिया