‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताएका छन् । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्र तयार गरेको जानकारी दिए ।
‘सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपी यो सहकारीको विषयमा मात्र केन्द्रित छैन’, उनले भने ।
विदेश र काठमाडौंबाट गाउँ फर्किएका युवा र गाउँमै रहेका युवाको सोचलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको श्रव्यदृश्यमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताए ।
चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताए ।
पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया