बिहीबार, जेठ ९, २०८२

अनमोल संगीतका श्रष्टा: गोपाल योञ्जनको सम्झना

नेपालखोज २०८२ जेठ ९ गते १०:१३

२८ वर्ष अगाडि आजकै दिन हामीले प्रख्यात सङ्गीतकार गोपाल योञ्जनलाई गुमाएका थियौ ।

स्वर्गीय गोपाल योञ्जनको जन्म वि.सं. २००० भदौ ९ गते अर्थात् सन १९४३ अगस्ट २६ तारिखका दिन ओकेटी चियाबारी, मिरिक, दार्जिलिङमा जन्मिएका थिए । बरोडामा शास्त्रीय सङ्गीत अध्ययन गर्दै गरेका नारायण गोपाल छुट्टीमा साथीहरूसँग भेट्न दार्जिलिङमा आइपुग्दा चौरस्तामा कर्म योञ्जन, नगेन्द्र थापाको साथ पुगेका नारायण गोपालको भेट गोपाल योञ्जनसंग भयो । यही भेट भएपछि नजिकिएका यी दुई गोपाललाई गुरु ईश्वर बल्लभको मनसाय बुझ्दै नगेन्द्र थापाले मितेरी साइनो लगाइदिएका थिए । महांकालको डाँडामा अँगेनीको आगोलाई साक्षी राखेर मित बनाइदिएका थिए नगेन्द्र थापाले । पछि यिनै नगेन्द्र थापाले गोपाल योञ्जनलाई २०२४ सालमा नेपाल बोलाए ।

नेपाल आइपुगेका गोपाल योञ्जनले २०२५ सालमा भएको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ‘गल्ती हजार हुन्छ यहाँ होस हराएको बेला’ गीतमा उत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए । सङ्गीतले दालभात नपाक्ने देखेपछि जीविकोपार्जनको लागी २०२५ सालमै सेन्ट मेरिज स्कुलमा शिक्षकको जागिर खाए । त्यहीँ स्कुलमा पढाउँदै गरेका रिन्छेनसंग गोपाल योञ्जनको विवाह भएको थियो । रिन्छेनको बुबा गुन्ज लामा, दोस्रो विश्व युद्धमा बर्मामा बहादुरी देखाएका कारण भिक्टोरिया क्रस पाएका पूर्व गोर्खा सैनिक थिए । हुन त गुन्ज लामा भुटिया हुन् । गोर्खा राइफलमा भुटियालाई भर्ती नलिने भएका कारण वास्तविक नाम ग्यात्सो साङदेर्पा भए पनि सेभेन्थ गोर्खा राइफलमा भर्ती हुँदा नाम परिवर्तन गरेर गुन्ज लामा लेखाएका थिए । २०२६ सालमा गोपाल योञ्जन र रिन्छेन बिच काठमाडौंमा विवाह भएको थियो ।

भारतमा जन्मनु भए पनि पछि भारतीय नागरिकता त्याग्नु भएका गोपाल योञ्जन नेपालमा आउनु भएर नेपाली मात्र बन्नु भएन । देश प्रति उच्च माया दर्शाउँदै धेरै राष्ट्रिय गीतहरूको रचना तथा गायन समेत गर्नुभयो । नेपाल प्रति वहाँको माया वहाँका हरेक गीतमा झल्किन्छ ।

– देशले रगत मागे मलाई बली चढाउनु, रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।

– बनेको छ पहराले यो छाती मेरो, बगेको छ लहरा रगतमा मेरो

पखेरुमा जन्मेँ टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो

– मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिरजस्तो

कैले पनि झुक्न नजान्ने कैले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीर जस्तो

– बनेको छ छहराले यो छाती मेरो, बगेको छ लहर रगतमा मेरो

पखेरोमा जन्मेँ टाकुरामा खेल्ने, झुक्दै नझुक्ने नेपालको छोरो।

राष्ट्रभक्ति गीत र सङ्गीतमा सधैँ देशको माया गरिरहनु हुने गोपाल योञ्जनको २०५४ जेठ ७ गते निधन भएको थियो ।

स्वर्गीय गोपाल योञ्जन प्रति हार्दिक श्रद्धा सुमन ।

प्रतिक्रिया