शुक्रबार, जेठ १०, २०८२

१० करोड बढीका भन्सार छलीका सामान बरामद

नेपालखोज २०८२ जेठ १० गते ५:३१

काठमाडौं । झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा १० करोड ८० लाख ६४ हजार ६६४ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद गरिएको हो । बरामद सामग्री सम्बन्धित निकायमा दाखिला गरिसकिएको उनले बताए ।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत चार स्थानमा खानेपानी व्यवस्थापन, सरसफाइ तथा सरसफाइजन्य सामग्री वितरण, २० युवालाई इलेक्ट्रिसियन तालिम, बुवाआमा गुमाएकी १० वर्षीया बालिका रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कूल सप्तरीमा कक्षा-१२ सम्म अध्ययन छात्रावृत्ति प्रदान, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणपति भण्डारीले जानकारी दिए ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले आज १८औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा गण परिसरमा आज स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा कर्तव्यपालनको सिलसिलामा दिवङ्गत हुनुभएका स्व सोमबहादुर तामाङको परिवारलाई सम्मान गरिएको थियो । उहाँको परिवारलाई रू ५१ हजार नगदसमेत प्रदान गरिएको छ । कार्यक्रममा वैशाख महिनामा उत्कृष्ट हुने मासिक जवानलगायत अन्य क्रियाकलाप तथा खेल विधामा प्रथम हुने कमर्चारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गरिरहेको बताए । सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनको भनाइ छ ।

प्रतिक्रिया