‘अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छु’

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । आज यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौं कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गरे ।
गृहमन्त्री लेखले अगाडि भने, ‘गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने होरु के त्यही पद्धति बसाउने होरु त्यो सम्भव छ ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।’
उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए ।
यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित/प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।
प्रतिक्रिया