आइतबार, जेठ १२, २०८२

गण्डकी प्रदेशसभाको आठौँ अधिवेशन सुरु

नेपालखोज २०८२ जेठ १२ गते २०:१३

गण्डकी । गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकको सुरुमा गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

यसपछि शून्य समयमा प्रदेशसभा सदस्यहरूले बर्सात नजिकिँदै गर्दा सम्भाव्य प्राकृतिक प्रकोपबारे बेलैमा सचेततासँगै पूर्वतयारी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य टीकाकुमारी बस्यालले गण्डकीमा एउटा जिल्ला तराईबाहेक सबै पहाडी र हिमाली जिल्ला रहेकाले सम्भाव्य प्राकृतिक जोखिमका सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताए । सदस्य डिल्लीराम सुवेदीले जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगत ३० वर्षभन्दा ठूलो परिणाममा वर्षा हुने भनेको सन्दर्भमा समयमा नै विपद् जोखिमबाट बच्ने गरी अतिरिक्त व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य विकल शेरचनले पनि हिमाली जिल्लामा हुने जोखिमको पूर्वआकलन गर्न जरुरी भएको बताए । विगतमा कागबेनीमा आएको बाढी यसैको परिणाम भएको भन्दै उनले यसतर्फ सचेत बन्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य प्रकाश बरालले गत वर्ष फेवाफाँटको धानमा लागेको गबारोका कारण एक करोड २८ लाख बराबरको क्षति ब्यहोरोका किसानहरू अझै पनि राहतको आशामा रहेकाले त्यसको सम्बोधन हुनुपर्नेमा जोड दिए । किसानले यस वर्ष बीउ राख्ने वा नराख्ने भन्दै अन्योलमा रहेकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य पञ्चारम गुरुङले हालै वर्षाका कारण स्याङ्जाको आँधी खोलास्थित जुग्लेबजारमा क्षति पुर्याएको उल्लेख गर्दै यहाँका १०-११ घर उच्च जोखिममा भएकाले बस्तीलाई जोखिमबाट जोगाउन ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्यहरू अशोककुमार श्रेष्ठ, देवका पहारी, नन्दकला दमै, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, भोजराज अर्याललगायतले विभिन्न समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया