शुक्रबार, जेठ १७, २०८२

‘सामाजिक न्याय र समृद्धिका लागि महिला अधिकार अपरिहार्य’

नेपालखोज २०८२ जेठ १५ गते १६:१८

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला अधिकारको सम्मान नभएसम्म राज्य सामाजिक न्याय र समृद्धिको दिशातर्फ अघि बढन नसक्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित समारोहमा उनले महिला हकअधिकार सम्बन्धित कानुनको पूर्ण कार्यान्वयनका लागि आह्वान समेत गरे ।

उनले समितिले महिला हिंसा र दुव्र्यवहारसम्बन्धी उजुरीमाथि तत्काल छलफल एवं छानबिनसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने गरेको बताए । महिला हकअधिकार समानता, न्यायपूर्ण ढङ्ग र समावेशी आधारले कसरी परिपुरण गर्न सकिन्छ भनेर लाछि परेका छौँ, सभापति साहले भने ।

कर्मचारीतन्त्रदेखि राजनीतिक दलभित्र महिलाको सहभागिता बढाउनुपर्ने जोड दिँदै उनले आर्थिक समानताले महिला सशक्तीकरणमा बल पुर्याउने बताए । सोही कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिँदै परिणाममुखी काम गर्न आग्रह गरे । उनले महिलाका मुद्दामा संवेदनशील भई काम गर्न सुझाव दिए ।

सांसद सदस्य रेखा यादवले नेपाली समाजमा अहिले पनि महिलाको भूमिका सहयोगीका रुपमा सीमित, अर्थ र सामाजिक प्रतिष्ठामा पुरुषकै पकड रहेको बताइन् । सांसद प्रतीक्षा तिवारीले अधिकारको दुरुपयोग हुन नदिन संवेदनशील बन्नपर्ने बतायन् ।

कार्यक्रममा पत्रकार बबिता बस्नेतले योगमायादेखि हालसम्म महिलाले लोकतन्त्र, सामाजिक न्यायका लागि गरेको बलिदानीपूर्ण सङ्घर्षको इतिहाससम्बन्धी चर्चा गरेका थिए । राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले आयोगको प्रतिवेदनमार्फत दिइएको सुझावलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरे । आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिला सशक्तीकरण र महिला हिंसा रोक्ने कार्यलाई प्राथमिकतामा राखेर तीनै तहमा आयोगले काम गरिरहेको बताए ।

प्रतिक्रिया