गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दी गरे रक्तदान

वीरगञ्ज (पर्सा) । गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदीबन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदीबन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताए । ‘विभिन्न कारणले कैदी जीवन बिताइरहेका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्वपूर्ण कार्य गरेका छन्,’ उनले भने,‘कैदी जीवन बिताइरहेकाहरुलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’
कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसूर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताए ‘वीरगञ्जमा रगतको चर्को अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौं,’ उनले भने,‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’ कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रुपक मण्डलले कारागारमा थनुवा तथा कैदीबन्दी गरेर करिव एकहजार ३००को हाराहारीमा रहेको जानकारी दिए ।
प्रतिक्रिया