शुक्रबार, जेठ १७, २०८२

विश्व कीर्तिमानी आरोही टासी ग्याल्जेनको आरोहण कथा

कुम्भराज राई २०८२ जेठ १६ गते १३:३३

काठमाडौं । सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै थिए । गाउँभन्दा थोरै माथि डाँडामै स्वागत गर्न आइपुगेका थिए गाउँले । तर स्वागत गर्नेको भीडमा टासीका आँखाले खोजेको एउटा मान्छे अनुपस्थित थिए । त्यो अनुपस्थित व्यक्ति अरु कोही नभएर आङछिरिङ अर्थात टासीकै बुबा थिए ।

जब टासी पुगे घरको आँगन । डाँडामाथिको घाम झैँ भएका बुबा हातमा खादा लिएर ढोका अगाडि उभिरहेका थिए छोराको प्रतिक्षामा । त्यतिखेर पुनः टासीको आँखाले अर्को मान्छे खोज्यो । जसलाई त्यहाँ देख्न सम्भव थिएन । १५ वर्षअघि सधैँका लागि बिदा लिएकी आमालाई टासीको मनले खोजिरह्यो, यतिखेर मेरो आमा पनि बुबासँगै भइदिएको भए कति खुसी थिए होला । बुबाले खादा लगाइसकेपछि अँगालो मारे एकअर्कालाई ।

अनि दुवैका आँखाबाट बग्यो खुसीका आँशु । जसरी हिमताल फुटेर उर्लिँदै झर्छ पग्लिएका बरफ । बाहिर म जति खुसी देखिएपनि भित्रभित्रै मलाई तिम्रो धेरै चिन्ता थियो छोरा भने बुबाले, टासीले लुक्लाबाट काठमाडौं ओर्लिएको केही घण्टापछि बुधबार कपनको सिद्धार्थ होटलमा लेखकलाई भने, ७८ वर्षका बुवाको आँखाबाट आँशु झरेको मैले जीवनमै पहिलोपटक देखेँ । तर त्यो आँशु दुःखको थिएन ।

किनकी बुबालाई थाहा थियो एउटा आरोहीको मर्म र जोखिम । उनले पनि सगरमाथा शिखर टेक्नुभएको थियो तीन पटक । हिमालका उकाली र ओरालीमा बोक्दाबोक्दै दुःख, एक दशक अघि आङछिरिङ खुम्बु आइसफलको खर्पासमा परे । बुढेसकाल लागेको गोडाले साथ दिएनन् । दाहिने खुट्टाले लौरोको सहारा माग्यो ।

खट्टाले लौरोको सहारा मागेसँगै बन्द भयो आम्दानीको स्रोत र कान्छो छोरा टासीको पढाइ । छोरालाई पढाएर ठूलो मान्छे बनाउने आङछिरिङको सपना तुहिएको दिन थियो त्यो । त्यही छोरा जसलाई हिँडाउनु मन थिएन आफैले दुःखको भारी बोकेको गोरेटो । तर त्यही गोरेटो भएर आज फर्किँदै थिए टासी । फरक यत्ति थियो, कि टासीले १५ दिनमा चार पटक सगरमाथा शिखरमा पाइला राखी विश्व कीर्तिमान बनाएर फर्किएका थिए । जुन सामान्य आरोहीका लागि असम्भव सरह हो ।

पासाङल्हामु गाउँपालिका–४, फोर्चे गाउँ हेर्दा जत्ति सुन्दर छ, त्यति नै हिमालका दुःख र साहासका कथाले भरिएका छन् प्रत्येक घर । त्यही गाउँका २८ वर्षीय युवा हुन् टासी ग्याल्जेन । जो नागरिकताअनुसार २९ वर्षको भए । आरोहणको यात्रा सुरु गरेको सात वर्षमै टासीले विश्व कीर्तिमानी कायम गरेका छन् । उनले यही मे ९, १४, १९ र २३ तारिखका दिन एकै सिजनमा १५ दिनभित्र चारपटक सगरमाथा आरोहण गरे ।

प्रतिक्रिया