शनिबार, जेठ १८, २०८२

एनआरएनएले गर्यो नयाँ बजेटको स्वागत

नेपालखोज २०८२ जेठ १७ गते १२:२८

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस गरेको बजेटलाई एनआरएनए आइसिसीले स्वागत गरेको हो ।

बजेटमा गैर आवासीय नेपालीहरूलाई नेपालको धितो पत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरू र गैर आवासीय नेपाली नागरिकहरूलाई नेपालको पुँजी बजारमा सहभागी हुने अवसर प्रदान गरेको छ। यो व्यवस्थाले विदेशमा रहेका नेपालीहरूको पुँजी नेपालको आर्थिक विकासमा भित्र्याउन र शेयर बजारको गतिशीलता बढाउन महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ, संघका महासचिव बी आर लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो नीतिले बैङ्किङ, पर्यटन, जलविद्युत्, र अन्य क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ, जसले नेपालको पुँजी बजारमा तरलता र आर्थिक स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । बजेटमा उल्लेखित यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनएको वर्तमान नेतृत्व नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी गराउँछौ, विज्ञप्तिमा उल्लेख छ ।

बजेटमा विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल, गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा सङ्कटमा परेका नेपालीहरूको उद्धारको व्यवस्था गर्ने जस्ता सकारात्मक प्रावधानहरू समावेश गरिएकोमा हामी प्रशंसा गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली सरह एनआरएनहरूलाई नेपालमा लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बिमा र सुरक्षा लगायतका केही महत्वपूर्ण मुद्दाहरू अझै सम्बोधन हुन बाँकी रहेको हाम्रो ठहर छ । एनआरएनए यी मुद्दाहरूलाई सम्बोधन गर्न नेपाल सरकारसँग निरन्तर संवाद र सहकार्य गर्न प्रतिबद्ध छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि संघको सधैँ साथ र समर्थन रहने विश्वास दिलाउन चाहन्छौँ, महासचिव लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया