संसदीय सुनुवाइले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूपमै अनुगमन गरी जानकारी लिने निर्णय पनि गरेको छ ।
समितिले विषयविज्ञ र सुनुवाइ गरी पठाएका व्यक्तिले प्रस्तुत गरेको कार्ययोजना र अवधारणामार्फत गरिएका प्रतिबद्धता के-कति कार्यान्वयन भए-भएनन् त्यसको जानकारी लिइने सभापति ईश्वरी न्यौपानेले बताए । संवैधानिक परिषद्, न्याय परिषद् र सरकारद्वारा विभिन्न सार्वजनिक पदमा नियुक्ति गरी संसदीय सुनुवाइका लागि पठाइएका राजदूत, सर्वोच्च अदालतका न्यायाधीश र सवैधानिक परिषद्का पदाधिकारीको समितिले सुनुवाइ गर्दै आएको छ ।
मुख्य जिम्मेवारी संसदीय सुनुवाइ नै भएकाले सुनुवाइका क्रममा उठेका प्रश्नको सम्बोधन र समितिलाई थप व्यवस्थित र चुस्त तुल्याउन सरोकारवालासँगको परामर्शलाई अघि बढाइएको उनले जानकारी दिए । समितिले जिल्ला निर्वाचन कार्यालयमा के-कस्ता समस्या छन्, सुनुवाइ समितिका लागि लिइने उजुरी दर्ता गर्न के-कस्ता अप्ठयारो परेको छ वा छैन भनी सातै प्रदेशमा गएर अनुगमन गर्ने छ ।
त्यस सिलसिलामा यस आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरामा प्रदेससभा, मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक जानकारी र सुझाव लिने तथा अन्तक्र्रिया गर्ने तयारी गरेको जानकारी दिइएको छ ।
समितिलाई कामयावी, प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जनताले कसरी हेरेका छन् भन्ने सन्दर्भमा समितिले यस किसिमको कार्ययोजना अघि सारेको छ । समितिले विदेशस्थित दूतावासमा समेत गएर अवलोकन र जानकारी लिने बताइएको छ ।
प्रतिक्रिया