सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं भोजपुर जिल्लाका पूर्वजिल्ला सभापति हेमराज अधिकारी (शास्त्री)को निधनप्रति दुःख व्यक्त गरेका छन् । अधिकारीको यही जेठ १३ गते ९४ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत आज उनको निधनप्रति दु:ख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । स्व अधिकारीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेकाे योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।
स्व अधिकारीप्रति सम्मान प्रकट गर्दै कांग्रेसले यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र सम्बन्धित जिल्लामा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।
कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य थिए । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गरेका थिए । उनी कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत थिए ।

प्रतिक्रिया