मंगलबार, जेठ २१, २०८२

श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण

नेपालखोज २०८२ जेठ २० गते ८:०३

भोजपुर । पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखि पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो ।

यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिनुभयो । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ ।

‘यहाँका किसानलाई सिँचाइ कुलो नहुँदा धेरै नै समस्या थियो’, उनले भने ‘हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहिनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।’

यो कुलोले हिउँदे र वर्खे गरीे तत्काललाई करिब ५० देखि ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिँचाइ सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताए । यहाँ धेरै उर्बरभूमि रहेकोले सिँचाइ कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ ।

सिँचाइ कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयवासी रुद्रबहादुर कोइरालाले बताउनुभयो । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखिको सिँचाइको समस्या अन्त्य भएको उनको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहजरुपमा समयमा खेती गर्ने अवस्था रहेको उनको भनाइ छ ।

कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताए । कुलो बनेपछि १० मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उनको भनाइ छ । वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको उनले बताए । सिँचाइ नहुँदा खेत बाँझिदै गएको अवस्थामा सिँचाइ विस्तारले ऊर्जा थपेको उनको भनाइ छ ।

निर्माणको काम सम्पन्न भएर पानी सञ्चालन गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताउनुभयो । आफ्नो गाउँघरमा सिँचाइको सुविधा विस्तारले उत्साह बढेको उनको भनाइ छ । कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । -रासस

प्रतिक्रिया