बुधबार, जेठ २२, २०८२

७०० फरार प्रतिवादी पक्राउको सूचीमा

नेपालखोज २०८२ जेठ २० गते ११:४७

तनहुँ । जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ । फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षका साउनदेखि वैशाख महिनासम्मको दश महिनाको अवधिमा फरार आठसय एक्काइस जनामध्ये १२१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महिला सोह्र र पुरूष एक सय पाँच रहेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट सत्र वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ ।

प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो, उनले भने, अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ । पक्राउ गरिएका प्रतिवादीबाट ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । त्यसैगरी अवैध नदीजन्य उत्खन्नमा संलग्न ८० सवारीसाधान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ ।

ती सवारी साधानले स्थानीय तहमा रु दश लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६ दशमलव ७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ । जबरर्जस्ती करणीका सोह्र, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा जघन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

जुवातासका बाह्र वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो । उक्त जुवाखालबाट रू दश लाख तीन हजार चार सय पाँच रकम बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया