राष्ट्रियसभाको बैठकमा बजेटमाथि छलफल

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र दुर्वलपक्ष दुवै भएको र समाजवादको आधार कृषि उत्पादन भएकाले सम्पूर्ण जमिन राष्ट्रियकरण हुनुपर्ने धारणा राखे ।
सदस्य सुमित्रा विसीले बजेटका धेरै राम्रा पक्ष भएको र स्वास्थ्यमा लगानी वृद्धि, स्वास्थ्य बिमाका बारेमा सुधार भइरहेको बताए । उनले प्राकृतिक चिकित्साको क्षेत्र र राष्ट्रिय गौरवका योजनामा तुलनात्मक रुपमा राम्रो बजेट विनियोजन भएको बताए ।
सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा दलितका लागि कार्यक्रम आए पनि दलितका हितमा नदेखिएको बताए । सदस्य नारायणदत्त भट्टले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सदस्य उदयबहादुर बोहोराले बजेट आफैँमा सरकारको काम गर्ने प्रतिबद्धता भएकाले रोजगार केन्द्रित कार्यक्रम समावेश भएकाले शिथिल अर्थतन्त्र उकास्ने खालको भएको बताए ।
सदस्य कृष्णप्रसाद अधिकारीले आर्थिक वृद्धिदरलाई जोड दिनुपर्ने र मुलुकको आर्थिकस्तर उकास्न २० अर्ब राजस्व उठाउन सक्नुपर्नेमा जोड दिए । सदस्य विष्णुदेवी पुडासैनीले समाजवादको दिशामा अघि बढ्ने, नेपालको जल्दोबल्दो समस्या समाधान गर्ने खालको बजेट भएको र शिक्षित युवालाई स्वरोजगार बनाउने कार्यक्रम भएकामा प्रशंसा गरे ।
सदस्य गोमादेवी तिमिल्सिनाले बजेट राम्रो भए पनि कार्यान्वयनमा कठिनाई हुने र प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध गर्दै कृषिमा आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अर्का सदस्य भुवनबहादुर सुनुवारले सरकारले छुवाछुत तथा भेद्भावविरुद्ध अभियान सञ्चालन गर्ने भनिएको कार्यक्रम स्वागतयोग्य भएको र यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गरे । सदस्य पदमबहादुर परियारले ४० माइक्रोनभन्दा पालतो प्लाष्टिक आगामी मङ्सिर १ गतेदेखि प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्न खोज्नु राम्रो भएको र जातीय विभेद न्यूनीकरण गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
सदस्य रेणु चन्दले बजेट नागरिकमैत्री बनाउन जोड नदिएको आरोप लगाए । सदस्य गङ्गाकुमारी बेल्बासेले लैङ्गिकमैत्री बजेट भए पनि कार्यान्वयनमा जटिलता देखिएको बताए । सदस्य तुलसाकुमारी दाहालले फराकिलो आर्थिक विकास, आधुनिक प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको विकास, सुशासन कायम गर्ने खालको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित बजेट वृद्धि गरिएको बताए ।
आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भोलि हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते शुक्रबार १:१५ बजे बस्नेछ ।
प्रतिक्रिया