मंगलबार, जेठ २८, २०८२

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

नेपालखोज २०८२ जेठ २८ गते ६:४९

मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका थिए ।

रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गर्नुभएको थियो । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिएका स्वामी भरत कोइरालाले बताए ।

उनका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । ‘धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो’, उनले भने ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा रु ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।

धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गरे । ‘धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ’, उनले भने, ‘सम्झौताअनुसार सतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।’

व्यवस्थापनमा खटिनुभएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताए । ‘धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए’, उनले भने, ‘सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।’

धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिनुभयो । “असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ”, उनले भने ।

रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिए । ‘मुक्तिनाथ क्षेत्रको छ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो’, उनले भने ।

यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गरे । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उनले जनाए । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उनले बताए । विसं २०४६ सम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिएको भन्दै त्यसपछि क्रमशः जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउन छोडिसकेका उनले जानकारी दिए ।

प्रतिक्रिया