‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

काठमाडौं । भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई-१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ .
जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २४० भन्दा बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो ।
एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति व्यहोर्छन् । छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसनलाई पनि सोचमग्न बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तरराष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताए । ‘जहाज दुर्घटना केकति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ । यसले हवाईयात्रीलाई सोचमग्न बनाएको छ ।’
नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटनाभएको हुनसक्ने पूर्वानुमान गरे। उनले भने, ‘नयाँ जहाज र अनुभवी पाइलटले उडाएकाले अहिले सरसरती हेर्दा मानवीयभन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ । जहाजको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्ने छ ।’
उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ । नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्वक्याप्टेन पौडेलले उल्लेख गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए । ‘ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ । यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ ।’ विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ ।
प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो । ‘नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै ‘एभिएसन इन्डस्ट्री’लाई ‘ब्ल्याक डे’ हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालकदलका सदस्यसहित दुई सय ४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको ‘सिनारियो’जस्तै भयो । उडेको केही क्षणभित्रै जहाज दुर्घटनाग्रस्त भएको देखिन्छ’, उनले भने।
विज्ञहरूको भनाइमा सामान्यतयः जहाज ‘टेकअप’ र ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ । जहाजलाई उड्नका लागि चाहिने म्याक्सिमम टेकअप वेट फुल प्यासेन्जर र फुलफ्युल हालेर जब जहाज जमिन छोड्छ उसको लिफ्ट पावर बढी चाहिन्छ । अलिकति पनि ब्यालेन्स तलमाथि हुदाँ एभिएसनको भाषामा जहाज स्टल हुन्छ । दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ ।
उनले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताए । उनका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुने छ । जहाजको इन्जिन फेल, कन्ट्रोल कमाण्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ ।
जहाजको ‘इमर्जेन्सी कण्डिसन’मा भएको अवस्थामा ‘मेडे मेडे मेडे’ भनेर क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०लाई जानकारी गराउँछन् । प्राधिकरणका अर्का एक विज्ञको भनाइमा एयर इन्डियाको दुर्घटनाअघि पाइलटले ‘मेडे’ शब्द बोलेर एटिसीलाई सूचना दिएका थिए । सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ ।
यसले गर्दा विश्व समुदायलाई अझै हाम्रो हवाई उडानमा उडान संपरीक्षण एयर वर्दिनेसको पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गरे । उनले थपे, ‘एयर वर्दिनेसको पाटोमा अझै हामीले ध्यान दिनुपर्ने सन्देश जान्छ । नेपालमा मनसुन जारी रहेकाले यो समयमा उडान सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्छ ।’
आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ । सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ । जहाजको प्राविधिक कुरालाई नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसममात्र नभई जहाजको प्राविधिक पार्टलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकामा विज्ञहरूको जोड छ ।
जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ । ‘यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सट्रनल फ्याक्टर चरा ठोक्किएको हुनुपर्छ, पूर्वमहानिर्देशक गौतमले भने, “जहाज टेकअप हुनेबित्तिकै हाइट लिन सकेन । ग्राउण्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरी दुर्घटना भएको देखिन्छ । जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ ।’
पूर्वमहानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा असर नपरे पनि हवाईयात्रीको कन्फिडेन्स घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताए। विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटनाग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीहरूले बताएका छन् ।
प्रतिक्रिया