संरक्षणका लागि हटाइँदै तालकाे जलकुम्भी

नवलपरासी । जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइ कार्य सुरु गरिएको हो ।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर रहेको छ । ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तालको सफाइ काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतीक्षा पौडेलले बताए । एक हप्तादेखि तालको सफाइको काम जारी रहेको उनले बताए । रोजगार शिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उनले बताए ।
नियमित रूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो । दैनिक रूपमा करिब पच्चिस जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् ।
‘बेरोजगारको सूचिमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ, यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ’ कार्यक्रम संयोजक पौडेलले भने । केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो ।
टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकिकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरमा रहेको प्राकृतिक रूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोले बताए ।
हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउन देखि घर निर्माण कार्यसमेतमा प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यस कारणपनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ । -रासस
प्रतिक्रिया