आइतबार, असार १, २०८२

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

नेपालखोज २०८२ जेठ ३२ गते २१:२३

काठमाडौं । सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा जन्मिनुभएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए । विसं २०५२ देखि उनले सङ्घीय संसद् सचिवालयमा सेवा गरेका छन् ।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत पदमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन् ।

दुराले आजै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गरेका छन् । नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । -रासस

प्रतिक्रिया