वीरगञ्जमा लार्भा नष्ट गर्ने अभियान

वीरगञ्ज (पर्स) । स्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज महानगरको ३२ वटै वडासहित पर्साका पालिकामा यसपालिको मनसुनअगावै डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान अघि सार्ने भएको छ ।
विगतका वर्षहरूमा स्वास्थ्य कार्यालय र वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखाको अगुवाइमा डेङुगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियान प्रभावकारी भएसँगै यस वर्ष पनि निरन्तरता दिन लागिएको हो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताए ।
स्वास्थ्य कार्यालयले चालु आवमा १६ वटा औषधि छर्कने टयाङ्की, एक हजार बायोडार्ट औषधिको झोल वीरगञ्ज महानगरअन्तर्गतका १ देखि १६ नम्बर वडा कार्यालयमा उपलब्ध गराएको छ । अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले पछिल्ला वर्षमा वीरगञ्ज महानगरमा डेङ्गुका सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुँदै आइरहेको जानकारी दिए ।
त्यस्तै, आव २०७९/८० मा दुई हजार ६६१ जना जनाको डेङ्गु जाँच गर्दा एक सय ९९ जना डेङ्गुका सङ्क्रमित भेटिएका थिए । चालु आवमा वीरगञ्ज महानगर क्षेत्रमा छिमेकी मुलुक भारतबाट आएका १४ बिरामीमा मलेरिया देखिएसँगै आवश्यक उपचार गरिएको थियो ।
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले सरसफाइ अभियान प्रभावकारी ढङ्गले अघि बढाउँदै आएको बताए । -रासस
प्रतिक्रिया