मंगलबार, असार ३, २०८२

किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपालखोज २०८२ असार ३ गते १९:०४

किएभ । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ ।

‘आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ’, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, ‘आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू’ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किएभमा ४४ जना घाइते भएका छन् ।’

ओडिसामा अन्य छ जना र चेर्निगिभमा अर्का एक जना घाइते भएको उनले जानकारी दिए । किएभका मेयर भिटाली क्लिट्स्कोले यसअघि राजधानीको सोलोम्यान्स्की जिल्लामा रुसी आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले ‘किएभमा आवासीय भवनहरू’ मा नयाँ रूसी आक्रमणको निन्दा गर्दै टेलिग्राममा मस्कोले ‘नागरिकहरू विरुद्धको युद्ध जारी राखेको’ बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरे तापनि मस्कोले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
वार्ता रोकिएको छ । मस्कोले किएभ र उसका युरोपेली सहयोगीहरूले माग गरेको ‘बिना शर्त’ युद्धविरामलाई अस्वीकार गरेको छ भने युक्रेनले रुसको मागलाई ‘अल्टिमेटम’ भनेर खारेज गरेको छ ।

सोमबार जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जी–७ शिखर सम्मेलनको छेउमा कुरा गर्ने आशा गरेको बताएका थिए ।

तर युक्रेनी नेता अमेरिकी राष्ट्रपतिको प्रस्थानपछि जी–७ मा आइपुग्ने अपेक्षा गरिएको थियो । तर इजरायलले इरानमा आक्रमण बढाउँदा ट्रम्पले आफ्नो बसाइ छोटो पारेका छन् । -रासस/एएफपी

प्रतिक्रिया