बुधबार, असार ४, २०८२

सात अर्ब ८१ करोड राजस्व सङ्कलन

नेपालखोज २०८२ असार ४ गते १०:४५

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख, कात्तिकमा ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी माघमा ७३ करोड दुई लाख, फागुनमा ७२ करोड ७६ लाख, चैतमा ७८ करोड ८० लाख, वैशाखमा ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ । बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए ।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा सात अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो ।

प्रतिक्रिया