बुधबार, असार ४, २०८२

नेपालगञ्जमा ‘फोटो फेस्टिभल’ सुरु

नेपालखोज २०८२ असार ४ गते २१:४२

नेपालगञ्ज । ‘नेपालगञ्ज फोटो फेस्टिभल’को चौथो संस्करण आजदेखि सुरु भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले फोटो खिचेर फेस्टिभलको शुभारम्भ गरे ।

सो अवसरमा सांसद राठौरले फेस्टिभलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।

फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम भएको उनको भनाइ छ । सांसद राठौरले यस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशानिर्देश गर्ने बताए ।

फेस्टिभलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १११ फोटो प्रदर्शनीमा राखिएको आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । प्रदर्शनीमा राखिएका फोटो निःशुल्क रुपमा हेर्ने प्रबन्ध मिलाएको आयोजकले जनाएका छन् ।

फोटो फेस्टिभलमा फोटो प्रदर्शनीसँगै दुईदिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । प्रतिस्पर्धामा छानिएका फोटोग्राफरहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगञ्ज, काठमाडौँ र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ ।

यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेटिने आयोजकले जनाएको छ । वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटो छनोट गरेको हो ।

नेपालगञ्ज फोटो फेस्टिभलअन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशि रु ५१ हजार १११ र प्रमाणपत्र रहेको छ । त्यसैगरी उत्कृष्ट ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले ‘पिपुल्स च्वाइस अवार्ड’ प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशि रु ५० हजार १११ र प्रमाणपत्र रहेको छ ।

यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा नौ विधा प्रतिस्पर्धामा समावेश छन् ।

हरेक विधाको उत्कृष्टलाई पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यस वर्ष फोटो पत्रकार र फोटोग्राफरका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट आयोजना हुने आयोजक अन्तरालले जनाएको छ । सो फेस्टिभल दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया