प्रजिअको आह्वानमा दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम संकलन सुरू

दार्चुला । प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गरेका छन् ।
उनले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अभियान सुरुआत गरेका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका विरामी समस्यामा पर्दै आएका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैंक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट सङ्कलन गरिएको रु पाँच लाख दुई हजार ८८१ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गरे ।
जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैंक स्थापना गर्न रकम सङ्कलन गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख महदेव बडू (कस्यप)ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताए ।
महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
जिल्ला अस्पतालका डा सञ्जीव श्रेष्ठ तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बैंक जरुरी भएको बताए । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि आवश्यक रहेको छ भने । अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउँछन् । -रासस
प्रतिक्रिया