मंगलबार, असार १०, २०८२

‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’

नेपालखोज २०८२ असार १० गते २१:२४

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाको अवस्था सुधार्न स्थानीयतहको नेतृत्वदायी पहलकदमी आवश्यक पर्नेमा जोड दिएका छन् । आज महोत्तरीको औरही नगरसभाको १६औँ नगर परिषद् बैठकमा उनले शिक्षा क्षेत्रको बिग्रिदो अवस्था सुधार्न स्थानीयतहले सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याए ।

पछिल्ला दिनमा हाम्रो शैक्षिक गुणस्तर केही कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ, सिंहले भने, शिक्षामा मधेशको पुरानो साख फर्काउन सबैपक्षको साझा सङ्कल्प आवश्यक पर्छ । यसको नेतृत्व स्थानीयतहले लिनुपर्ने उनको भनाइ छ ।

केही दशक पहिलेसम्म मधेशका विद्यालय र कलेजको उत्पादन भनिँदा विशेष महत्त्व दिइने गरिएको सम्झँदै मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताए ।

अहिले विद्यालयभित्रै लागुपदार्थ दुव्र्यसन फैलिएको सुनिन्छ, सिंहले चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको क्षमता विकास गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा औरही नगरप्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमसँगै ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरे । कार्यक्रममा नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले मुख्यमन्त्री सिंहलाई अभिनन्दनपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया