बिहीबार, असार १२, २०८२

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई अभिमुखीकरण

नेपालखोज २०८२ असार १२ गते १३:१९

काठमाडौं । नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । बुधबार कलेजमा एक कार्यक्रमका विच एमडी, एमएस, एमडिएस तथा एमएस्सी नर्सिङ अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसँगै शैक्षिक अभिमुखीकरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले भर्ना भएका विद्यार्थीहरुलाई लगनशील र मेहनतका साथ अध्ययन गर्न सुझाए । पछिल्लो समय नेपालको चिकित्सा शिक्षाको गुणस्तरीय र प्रतिष्पर्धात्मक भएको बताउँदै विद्यार्थीहरुले स्नातकोत्तर तहमा झनै मेहनत गरेर अध्ययन गर्नुपर्ने बताए । आफुले ५० वर्षअघि अध्ययन गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै नै सुधार र फरक भइसकेको जनाउँदै प्रा.डा. अन्सारीले त्यसबेला स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरु पनि कम हुने स्मरण गरे ।

प्रा.डा. अन्सारीले पिजी विद्यार्थीहरुले ३ वर्ष गर्ने मेहनत, लगनशीलताले उनीहरुको भविष्य निर्धारण गर्ने बताउँदै कुनैपनि रोगको पहिचान र उपचार गर्न बिरामी प्रति गम्भिर र संवेदनशील भएर लाग्नुपर्ने बताए । ‘अबको ३ वर्ष तपाईहरुले गर्ने अध्ययन, बिरामी प्रति देखाउने व्यवहारले तपाईहरुको भविष्य कस्तो हुन्छ निर्धारण गर्दछ ।

यसकारण आफ्नो पेशा प्रति गम्भिर बन्नुस, मेहनत गर्नुस्, बिरामीहरु प्रति जिम्मेवार भएर प्रस्तुत हुनुहोस् । नेपाल मेडिकल कलेज तपाईहरुको अध्ययन, अध्यापनमा सदैव सकारात्मक सहयोग गर्न तत्पर रहन्छ ।’ चिकित्सा शिक्षा अध्ययन गर्न अनुशासन र मेहनत नै सबैभन्दा महत्वपूर्ण भएको भन्दै उनले भने ।

कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताईन । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले लगनशीलताका सात पढाईलाई अगाडी बढाउन सुझाउँदै भनिन ।

पछिल्लो समय नेपालको स्वास्थ्य सेवाको विषयहरु कडा बन्दै गइरहेको र कतिपय केसहरु अदालतमा समेत पुगिरहेकोले बिरामीहरुको उपचारमा कुनैपनि लापरवाही, हेलचेक्र्याई नगरी अगाडी बढ्न सुझाईन । बिरामीको चेक जाँच, उपचार देखि डिस्चार्जसम्ममा रेजिडेण्ट डाक्टरहरुको महत्वपूर्ण भूमिका रहने भएकोले हरेक कुराहरु गहन रुपमा अध्ययन गर्न आग्रह गरिन । मेडिकल शिक्षा क्षेत्रमा नेपाल मेडिकल कलेज उत्कृष्ट कलेज रहेको जनाउँदै विद्यार्थीहरुको अध्ययन, अनुसन्धान र सिकाईका लागि कलेज ब्यवस्थापन सदैव सकारात्मक रहने जिकीर गरिन ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, भाइस प्रिन्सिपल प्रा.डा. मृगेन्द्र अमात्य, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले विद्यार्थीहरुलाई संवोधन गर्दै ३ वर्षको समयलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया