बिहीबार, असार १२, २०८२

‘सशस्त्र प्रहरी बलले सीमित श्रोतसाधनमा उत्कृष्ट कार्य गरेको छ’

नेपालखोज २०८२ असार १२ गते १८:१३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमित श्रोतसाधानका बावजुद सशस्त्र प्रहरी बलले उत्कृष्ट कार्य गरेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित ‘बरिष्ठ अधिकृत सम्मेलन–२०८२’ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्वपूर्ण रहेको चर्चा गर्दै राष्ट्रको सेवाका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संबेदनशील कार्य, आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापन लगायतमा उत्कृष्ट योगदान पु¥याएको बताए ।

राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भुमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उनले बताए । धेरै ठाउँमा सशस्त्र प्रहरीका युनिट स्थापना गर्न आम नागरिकबाट माग आएकोले यो नागरिकको बिश्वास बढेको उदाहरण भएको चर्चा गर्दै उनले सिमित श्रोतसाधनले काम गर्नुपर्ने अवस्था रहेपनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट रहेको बताए ।

संगठन सुधारका लागि मन्त्रालय गम्भीर रहेको र आधारभूत आवश्यकताको व्यवस्थापन गर्दै मन्त्रालयको तर्फबाट कानूनी, नीतिगत मार्गदर्शन हुने समेत उनले बताए । मनसुन शुरु भइसकेको हुँदा तयारी हालतमा रहन जरुरी रहेकोले सबै प्रदेशमा जोखिमको मुल्यांकन गरेर सोही अनुसार कार्य गर्न सबै बाहिनीपतिहरुलाई उनले निर्देशन समेत दिए । सुरक्षा निकायको आवश्यकता पुरा गर्न मन्त्रालयले कार्य गरिरहेकोले श्रोतसाधनको उपलब्धता मन्त्रालयको प्राथमिकतामा रहेको माननीय गृहमन्त्री लेखकले बताए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले यो सम्मेलनका छलफल, निचोड लगायतका बिषयमा उठेका कुराहरुमा समन्वय र सहकार्यका लागि मन्त्रालय कृयाशील रहेको बताए । संगठनप्रति मन्त्रालयको भरोसा रहेको र अझ प्रभावकारी कार्य सम्पादनको अपेक्षा मन्त्रालयको रहेको बताए । विपद् व्यवस्थापनका लागि उपकरण लगायतमा सबै तहको सामुहिक साझेदारी रहेकोमा जोड दिँदै उनले बताए । संगठनको बृत्तिविकासका लागि मन्त्रालयको साथ, सहयोग र समन्वय रहिरहने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक बिषयमा छलफल भएको र प्रतिबद्धतालाई कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको बताउँदै आम नागरिकको सुरक्षा, विपद् उद्वार लगायतका कार्यमा थप प्रभावकारी कार्यको प्रतिवद्धता व्यक्त गरे ।

फिल्डमा नतिजामुखी कार्यको लागि मातहतलाई निर्देशन दिँदै उनले राजश्व संकलनमा थप निर्मम् हुन जरुरी रहेको बताए । केही दिन अघि पूर्वी नवलपरासीमा मध्यरातमा गरिएको उद्धार कार्यमा खटिएका नं. ३१ गुल्मका सबै सुरक्षाकर्मीलाई आन्तरिक रुपमा पुरस्कृत गरिएको पनि उनले जानकारी दिए । कार्यक्रममा गृहमन्त्रालय नीति योजना अनुगमन तथा मुल्यांकन महाशाखाका सह–सचिव आनन्द काफ्लेले राजश्व चुहावट नियन्त्रण, सशस्त्र प्रहरी बलको भौतिक पूर्वाधार निर्माण तथा श्रोतसाधन लगायतका बिषयमा जानकारी गराए ।

असार ११ र १२ गते संचालन भएको सम्मेलनमा विशेष गरी सीमा सुरक्षा र विपद् व्यवस्थापन लगायतका बिषयमा भौतिक तथा भर्चुअल माध्यमबाट छलफल भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह–सचिव रामचन्द्र तिवारी, प्रशासन महाशाखाका सह–सचिव छवि रिजाल, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत तथा भर्चुअल माध्यमबाट प्रदेशस्थित बाहिनी मुख्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया