जगन्नाथ रथयात्रा गरिँदै

काठमाडौं । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गर्ने भएको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज एक विशेष समारोहकाबीच सो रथयात्रा महोत्सवको शुभारम्भ गर्न लागिएको हो । रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती गरी शुभारम्भ गर्ने जनाइएको छ ।
इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका केन्द्रीय सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिए । आजका दिन नेपाललगायत १६५ देशमा यो यात्रा भइरहेको पनि उनले सुनाए ।
जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिने इस्कोनले जनाएको छ । समापनपछि टुँडिखेलमै प्रसाद पनि वितरण गरिने उनले बताए ।
प्रतिक्रिया