शुक्रबार, असार १३, २०८२

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

नेपालखोज २०८२ असार १३ गते २१:५४

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर गरेका बिक्रीले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार, मे महिनामा कुल आठ लाख ९८ हजार ७२१ सवारीसाधन बिक्री भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि भएको हो । यो संख्या मे महिनाकै अहिलेसम्मको सबैभन्दा उच्च बिक्री हो ।

यस्तो वृद्धि अमेरिका, चीन र जापानमा हाइब्रिड गाडीप्रतिको बढ्दो मागका कारण भएको जनाइएको छ । विशेषगरी, संयुक्त राज्य अमेरिकामा बिक्री १०.९ प्रतिशतले वृद्धि दुई ४० हजार १७६ युनिट पुगेको छ भने चीनमा ६.८ प्रतिशतले बढेर एक लाख ४९ हजार ८८७ युनिट पुगेको छ ।

त्यस्तै, जापानमा पनि बिक्री ४.४ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ५८६ युनिट पुगेको छ, जसमा गत वर्ष देखिएको प्रमाणीकरणसम्बन्धी समस्याबाट आएको सुधारले सकारात्मक भूमिका खेलेको विश्वास गरिएको छ ।

यद्यपि बिक्रीमा उल्लेखनीय वृद्धि भएको भए पनि, कम्पनीले उत्पादन पक्षमा भने सानो गिरावट आएको जानकारी दिएको छ । २०२५ मे महिनामा टोयोटाको विश्वव्यापी उत्पादन ०।७ प्रतिशतले घटेर आठ लाख छ हजार ६७७ युनिटमा झरेको छ, जुन पछिल्ला पाँच महिनामा पहिलो गिरावट हो। जापानमा काम गर्ने दिन घटेका कारण यस्तो असर परेको बताइएको छ ।

त्यसैगरी, अमेरिकामा उत्पादन १।८ प्रतिशतले घटेर एक लाख २० हजार ५३९ युनिटमा पुगेको छ भने जापानमै घरेलु उत्पादन ५।४ प्रतिशतले घटेर दुई ४१ हजार ५७० युनिटमा पुगेको छ । कम्पनीले भविष्यमा उत्पादन र बिक्री दुवैमा स्थायित्व र सुधार ल्याउने प्रयास जारी रहने स्पष्ट पारेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया