शनिबार, असार १४, २०८२

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पोखरी निर्माण

नेपालखोज २०८२ असार १४ गते ७:५४

म्याग्दी । मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि यस वर्ष जिल्लाका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा पोखरी निर्माण गरिएको हो ।

पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनजङ्गल क्षेत्रमा रोक्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए ।

अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सल्लेरी, रघुगङ्गा–६ को मनिबराह, मङ्ला–१ को चण्डिकागैरा, मालिका–३ को बराहताल र बेनी नगरपालिका–१ को कमेरे झ्याउले सामुदायिक वनमा यस वर्ष पोखरी निर्माण गरिएको सहायक वन अधिकृत विनयबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीबाट ६१ हजार लिटर पानी उपलब्ध हुन्छ ।

प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८÷७९ मा १०, आव २०७९÷८० मा छ र आव २०८०÷८१ मा १० गरी २६ वटा पोखरी निर्माण भइसकेका छन् ।

बराहताल सामुदायिक वनका अध्यक्ष धनबहादुर रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए ।

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु वन नजिकको मानवबस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन् । -रासस

प्रतिक्रिया