शनिबार, असार १४, २०८२

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ ‍: अध्यक्ष ओली

नेपालखोज २०८२ असार १४ गते १७:२९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए ।

अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।’ उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन-८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पुर्याएका योगदान र गरेकाे दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए । आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएकोसमेत उल्लेख गरे ।

मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज)को विचार निर्माण गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको बताए । आफूहरुले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि यसका सम्पूर्ण आधार भने चौथो महाधिवेशमै बनाएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालेकोसमेत उल्लेख गरे ।

प्रतिक्रिया