ङ्यातपोल मन्दिर निर्माणको ३२३ वर्ष: दुखीभारोको कथा र पलिखेलको इतिहास

भक्तपुरको तःमारीमा रहेको ऐतिहासिक न्यातपोलको गजुर राखेर मन्दिर निर्माण सम्पन्न भएको हिजो ३२३ वर्ष पुरा भएको छ । वि.सं. १७५९ असार शुक्ल प्रतिपदाका दिन गजुर स्थापना गरेर कोट्याहुती यज्ञ गरिएको थियो ।
मन्दिर निर्माण सम्पन्न भएको २२ महिना पछाडि भक्तपुरका एक दुखी भारो नाम गरेका व्यक्तिले रामायणको नेवारी अनुवाद गरेका थिए । सो रामायणको एक ठाउँमा उनले हामीलाई ङातापोल निर्माण गर्नका लागि जमिन चाहिए पछि हाम्रो पुर्ख्यौली घर रहेको ननिछेँ लिएर हामी निष्कासित भएका थियौ भन्ने आशय खोलेका थिए । यसरी पुर्ख्यौली थलो गुमाएर नयाँ भुलाछेँमा बस्न गए । जसले गर्दा उनी दुखी भएको स्पष्ट हुन्छ । किनकि उनले आफ्नो नाम नै दुखी राखे ।
त्यो बेला पनि आवश्यक पर्दा सरकारले जनताका घर खेत अधिग्रहण गरी स्थानान्तरण गर्ने गरेको स्पष्ट हुन्छ । तर यसरी पुर्ख्यौली थलो गुमाउने दुखीभारो मात्र थिएनन् । त्यहाँबाट धेरै नै हटाइएका थिए । यसरी तःमारीबाट हटाइएकाहरूलाई सत्ता भर्नामा जमिन दिएको ठाउँ हालको पलिखेल हो । पलिको अर्थ सत्ता भर्ना र ख्य को अर्थ खेत हुन्छ । अर्थात् सत्ता भर्नामा दिइएको खेत भएको हुँदा पलिख्य भन्न थालियो । पछि अपभ्रंश हुँदै पलिखेल हुन पुग्यो । यहीँ पलिख्यमा बस्न पुगेकाहरूलाई पलिख्य भन्ने गरियो । कालान्तरमा एउटा थर पालिने हुन गयो । यहाँबाट बसाइ सरेर पूर्व गएकाहरू अचेल पलिते लेख्छन् भने पश्चिम गएकाहरू पालिने लेख्दछन् ।
ङातापोलको भव्य मन्दिर नयाँ बनाइएको भए तापनि पहिले रहेको ङातापुल मन्दिर भत्काएर बनाइएको थियो । ङातापुल मन्दिर वि.सं. १७५८ पौष सुदी ७ बृहस्पतिवारिका दिन भत्काउने कार्य सम्पन्न भएको थियो । पुरानो मन्दिर भत्काइएको पाँच दिन पछि वास्तु पूजा गरेर मात्र नयाँ मन्दिर निर्माणको काम थालेको देखिन्छ ।
केवल ६ महिनामा यति ठुलो मन्दिर तैयार भएको पढ्दा हामी अचम्मित हुन्छौ । किनकि आज मशिनरी युगमा सबै कार्य गर्न विभिन्न किसिमका मसिनहरूको आविष्कार भई सक्दा पनि वर्षौँ सम्म निर्धारित योजना पुरा गरिएको हुँदैन । यसमा सरकार, सरकारका सम्बन्धित कर्मचारी र कामको ठेक्का लिने व्यक्ति वा संस्था काम प्रति दत्तचित्त हुने गर्दैन ।
ङातापोल मन्दिर निर्माणका क्रममा तैयार गरिएको नक्सा ।
प्रतिक्रिया