बिहीबार, असार १९, २०८२

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

नेपालखोज २०८२ असार १९ गते १२:४७

चितवन । यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परिक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँका अनुसार नेपाल सरकारले बनाएको मापदण्डअनुसार चितवनमा उत्पादित महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाईएको हो । मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि ११ वटा फार्मबाट नमूना सङ्कलन गरि पठाएको थियो । परीक्षणका क्रममा सबै नमूना गुणस्तरयुक्त पाइएको हो ।

उनले भने, ‘चितवनका ११ वटा फार्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जङ्गली स्रोतको मह परीक्षणका लागि नमूना पठाइएका थियौं, सबैमा हाइड्रोअक्सिमिथाइल फुरफुरल राम्रो पाइएको छ ।’ यो परीक्षणपछि यहाँ उत्पादित महको प्रयोग ढुक्कका साथ गर्न सकिने उनले बताए ।

उनका अनुसार महमा पानीको आद्रता, फुक्टोज गुलकोज अनुपात, रिड्युसिङ सुगर, हाइड्रोअक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थ, शुक्रोजको मात्रा परीक्षण गरिएको थियो । प्रति किलो महमा ४० एमजीभन्दा माथि भएको महलाई प्रशोधन गरिएको तथा चर्को ताप दिइएको मानिन्छ ।

कतिपय उपभोक्तामा महको गुणस्तरीयताको विषयमा प्रश्न उठाउँदै भ्रम फैलाउन थालेपछि महको परीक्षण गरिएको अमगाइँले बताए । परीक्षणका लागि कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मौरीपालक किसानले उत्पादन गरेको महको नमूना पठाइएको थियो ।

नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार ५०० मौरीका गोला रहेका छन् । नेपालमा वार्षिक चार हजार मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा ४३० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया