शनिबार, असार २१, २०८२

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

नेपालखोज २०८२ असार २० गते १९:४५

गण्डकी । जलवायु परिवर्तनको असरसँग जुध्न नेपालले अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा सो क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । मेची–महाकाली मिडिया सोसाइटीद्वारा पोखरामा आज आयोजित ‘सञ्चारकर्मीहरूसँग जलवायु संवाद’ कार्यक्रमका वक्ताहरूले जलवायु न्यायका लागि नेपालले विश्व समुदायसमक्ष स्पष्ट अडान राख्नुपर्ने बताएका हुन् ।

वातावरण तथा जलवायु परिवर्तनको नीति तथा अर्थशास्त्र क्षेत्रमा कार्यरत अर्जुन ढकालले जलवायु परिर्वतन विस्तारै आर्थिक मुद्दा बन्दै गएको बताए । उनले जलवायु परिवर्तनलाई सङ्कटका रूपमा मात्र नहेरी त्यसलाई अवसरका रूपमा पनि लिनुपर्ने बताए । जलवायु परिवर्तनका सबैभन्दा बढी असर खेपिरहेको हिमालय क्षेत्रको मध्यभागमा पर्ने भएकाले जलवायु मुद्दाको नेतृत्व नेपालले लिनसक्छ, उनले भने, यसले आर्थिक, प्राविधिकलगायत अन्य अवसर पनि सृजना गर्छ ।

ढकालले विश्वमा औद्योगिकीकरणको विकास भएसँगै पृथ्वीको औसत तापक्रम बढ्दै गएको र त्यसले जलवायु सङ्कट निम्त्याएको बताए । कार्बन उत्सर्जनमा नेपालको भूमिका नगन्य मात्रामा रहे पनि जलवायु परिर्वतनको ठूलो असर नेपालले झेलिरहेको उनको भनाइ छ । पृथ्वीको तापक्रम बढ्दा पानीको चक्र र जैविक प्रणाली नै खल्बलिएको ढकालले बताए । जलवायु परिवर्तनका काराण हिमनदी पग्लेर हिमताल बन्ने क्रम बढ्दो छ, हिमताल फुट्ने जोखिम पनि उत्तिकै छ, उनले भने ।

ढकालले क्षतिपूर्तिसहितको जलवायु न्यायका लागि नेपालले अन्तरराष्ट्रिय जगत्मा पहुँच र पहल बढाउनुपर्ने उल्लेख गरे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसीले जलवायु मानवीय गतिविधिका कारण विश्वले वातावरणीय सङ्कट झेलिरहेको बताए । वातावरण संरक्षणसँगै र दिगो विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो । जलवायु परिवर्तनलाई रोक्न नसकिने जनाउँदै प्रा डा सुवेदीले यसका असर न्यूनीकरणसँगै परिवर्तित अवस्थामा अनुकूलनका उपायहरू अपनाउनुपर्ने धारणा राखे ।

खाद्य अधिकारका जानकार डा भेषराज अधिकारीले जलवायु परिवर्तनले कृषि प्रणालीमा पनि असर पु¥याइरहेको बताउनुभयो । जैविक विविधतामा ह्रास आउँदा त्यसले खाद्यान्न सङ्कट ल्याउन सक्ने उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव अजय कार्कीले शाहाकारीको तुलनामा मांसाहारी जीवजन्तुमा जलवायु परिवर्तनको असर कम परेको अनुसन्धानबाट देखिएको बताए । उनले जलवायु परिवर्तनबारे नीति र योजना बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।

सहसचिव कार्कीले जलवायु परिवर्तनका कारण खनिज, वनस्पति र प्राणी जगत्मा गम्भीर असर पुगेको बताउनुभयो । त्यस्तो असरलाई घटाउने र अनुकूलन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा आयोजित उक्त संवाद कार्यक्रममा गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पुर्णेश्वर सुवेदी, हिमाल बचाऊ अभियानकर्मी डिबी नेपाली, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जलवायु परिवर्तनका असरबारे धारणा राखेका थिए ।

प्रतिक्रिया