किसानलाई फलफूलका बिरुवा वितरण

कञ्चनपुर । किसानलाई फलफुल खेतीतर्फ आकर्षित गर्न यहाँस्थित कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत वर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत किसानलाई दुई प्रजातिका आँप र लिचीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । प्रति घरघुरीलाई नागरिकताका आधारमा दुई आँप र दुई लिचीका बिरुवा वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख लालबहादुर धामीले बताए ।
आँप दशहरी ६०० बिरुवा, आम्रपाली ४४४ र लिची शाही ८०० गरी एक हजार ८४४ बिरुवा अनुदानमा वितरण गरिएका छन् । आँप आम्रपालीप्रति बिरुवा ११५, दशहरीप्रति बिरुवा रु ८५ र लिची शाही प्रति विरुवा ८५ मा खरिद गरी किसानलाई आधा मूल्यमा उपलब्ध गराइएको शाखा प्रमुख धामीको भनाइ छ ।
किसानलाई व्यावसायिक फलफूल खेतीतर्फ प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ, उनले भने, फलफूल खेती नगदे बाली भएकाले किसानको आर्थिक अवस्थालाई दिगो बनाउनुका साथै पोषणमा सुधार ल्याउँछ ।
प्रतिक्रिया