गण्डकीमा घट्दै बर्खे धानखेती

गण्डकी । गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो ।
यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने प्रदेश कृषि विकास निर्देशनालयको अनुमान छ । घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालयले जनाएको छ ।
रोपाइँको क्षेत्रफल घटेपनि धानको उत्पादकत्व भने बढेको पाइएको छ । दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको थियो ।
अनुकूल हावापानी, रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्नत बिउविजन आदि कारणले धानको उत्पादकत्व बढ्ने गरेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए ।
मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा बर्खे र चैतै धान खेती हुँदै आएको छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।
नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान बाली बढी लगाइन्छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।
पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।
गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । यही असार १५ सम्म प्रदेशमा २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ ।
जुन २८ दशमलव २० प्रतिशत हो । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । वर्षा कम हुँदा र पानीका मुल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए । -रासस
प्रतिक्रिया