आइतबार, असार २२, २०८२

‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

नेपालखोज २०८२ असार २२ गते ६:१२

काठमाडौं । असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिए ।

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुगेका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताए । उनका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ ।

उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ ।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् । -रासस

प्रतिक्रिया