आईएफसी र स्टान्डड चार्टडले बैंकले वल्डलिंकमार्फत चार अर्ब लगानी गर्नै

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र स्ट्यान्डर्ड चार्टर्ड बैंकले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन र त्यसको सब्सिडियरी डेटा वल्र्ड लिमिटेडमा करिब चार अर्ब नेपाल रुपैयाँ अर्थात दुई करोड ९० लाख अमेरिकी डलरऋण लगानी गर्ने भएका छन् ।
यो लगानीले नेपालको फाइबर नेटवर्क विस्तार तथा नयाँ डेटा सेन्टर निर्माण हुने आईएफसीले जानकारी दिएको छ । ‘यसले देशभरि इन्टरनेटको पहुँच विस्तार भई डिजिटल विभाजन कम गर्न तथा समावेशी आर्थिक विकास हासिल हुन मद्दत पुग्ने छ,’ आईएफसीले भनेको छ ।
‘कनेक्टिभिटी नै अवसरसम्म पुग्ने सेतु भएको कुरामा हामी विश्वास गर्छाैं । आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालभरि कनेक्टिभिटीको सेतु अझ बलियो बन्नेछ,’ वल्र्डलिंकका संस्थापक तथा अध्यक्ष दीलिप अग्रवालले भनेका छन् । यो सहकार्य डिजिटल रूपमा सशक्त समाज निर्माण गर्ने आफूहरूको साझा प्रतिबद्धताको प्रमाण भएको उनको भनाई छ । आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्ने करिब ४ अर्ब लगानी देशभरि फाइबर नेटवर्क विस्तार गर्न तथा १० ठाउँमा आधुनिक डेटा सेन्टर निर्माणमा खर्च हुने वल्र्डलिंकका प्रबन्धक सुनिल यादवले जानकारी दिएका छन् । फाइबर नेटवर्क विस्तार तथा अत्याधुनिक डेटा सेन्टर देशभरि निर्माण हुँदा त्यसले नेपालमा दिगो र नवप्रवर्तकारी वृद्धिको नयाँ मापदण्ड तय गर्ने पनि आईएफसीले जानकारी दिएको छ ।
‘यो लगानी नेपालको १६औं राष्ट्रिय योजना तथा डिजिटल नेपाल फ्रेमवर्कको सर्वसुलभ इन्टरनेट पहुँच, एकीकृत पूर्वाधार विकास र प्रविधिको उपयोग मार्फत सामाजिक-आर्थिक उन्नति हासिल गर्ने सरकारको दृष्टिकोण अनुरूप छ,’ दक्षिण एसियाका लागि आईएफसीका क्षेत्रीय निर्देशक इमाद एन फाखुरीले भनेका छन् । सेवा नपुगेका क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने, नेपालको डिजिटल रूपान्तरण, कनेक्टिभिटी र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा आईएफसी खुसी भएको उनले बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । यो एक अग्रणी अन्तर्राष्ट्रिय बैंकिङ समूह हो जसले विश्वका ६० देशमा काम गरिरहेको छ ।

प्रतिक्रिया