वीरगञ्जमा खानेपानीको सङ्कट : समस्याको दीर्घकालीन समाधानमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ ।
वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।
वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गरेका थिए । उनको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गरेका थिए । उनी नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।
वीरगञ्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको सङ्कट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न छन् । महानगरप्रमुख सिंह मङ्गलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्याङ्कर लिएर पुगेका थिए । -रासस

प्रतिक्रिया