एसियाली मुलुकमा अरुको तुलनामा ‘राम्रो’ कर दर हुनसक्छ : अमेरिकी विदेशमन्त्री

नेपालखोज २०८२ असार २६ गते २१:२९

क्वालालम्पुर । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे २० भन्दा बढी देशमाथि दण्डात्मक कर लगाउने चेतावनीपछि रुबियोको मलेसिया भ्रमण भएको हो ।

क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को बैठकका क्रममा रुबियोले भने, ‘म यति भन्न सक्छु, सबै कुरा भनेजस्तो भयो भने दक्षिणपूर्व एशियाका धेरै देशहरूमा कर दरहरू वास्तवमा विश्वका अन्य भागहरूको तुलनामा राम्रो हुनेछ ।’

उनले अगाडी भने, ‘वार्ता जारी छ । अर्को साता जापानसँग वार्ता हुनेछ । यहाँ प्रतिनिधित्व गर्ने लगभग हरेक देशसँग निरन्तर वार्ता भइरहेको छ ।’ राष्ट्रपति ट्रम्पले गत अप्रिलमा आफूले निलम्बन गरेको करसम्बन्धी अवधारणा नयाँ समयसीमाभित्र फिर्ता हुने बताएका छन् ।

उनले एशियाका धेरै देशसहित २० भन्दा बढी देशहरू करवृद्धिको पहिलो निर्णयको भागिदार बन्नेछन् । उनीहरूले २० देखि ५० प्रतिशतसम्म करको सामना गरिरहेका छन् र तामा आयातमा ५० प्रतिशत कर र फार्मास्युटिकल्समा सम्भावित २०० प्रतिशत शुल्क लागु गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गरेका छन् ।

लक्षितमध्ये एसियाली मुलुकमध्ये शीर्ष व्यापार साझेदारहरू जापान र दक्षिण कोरिया पनि रहेका छन् । यी दुबै मुलुकका लागि २५ प्रतिशत कर वृद्धि हुन सक्ने बताइएको छ ।

इन्डोनेसिया, लाओस, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, ब्रुनाई र म्यान्मारले २० देखि ४० प्रतिशतसम्म करको सामना गर्नुपर्ने अनुमानहरू गरिएका छन् ।

आसियानको सदस्यसमेत रहेको भियतनाम ट्रम्प प्रशासनसँग अस्थायी सम्झौता गर्ने दुई देशमध्ये एक हो भने बेलायत अर्को हो । -रासस/एएफपी

प्रतिक्रिया